बद्री पौडेल , धादिङ ,२०८३ असोज १० गते

हिन्दू धर्मावलम्बी नेपालीहरूको महत्वपूर्ण धार्मिक परम्परा सोह्रश्राद्ध (पितृपक्ष) भोलिदेखि सुरु हुँदैछ। आश्विन कृष्ण पक्ष प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध असोज २४ गते औँसीका दिन पितृविसर्जन गरेसँगै सम्पन्न हुनेछ।

हिन्दू परम्परामा कुनै पनि शुभकार्य तथा देवीदेवताको पूजा–आराधना गर्नुअघि आफ्ना दिवंगत पितृहरूको स्मरण गर्दै श्रद्धा अर्पण गर्ने परम्परा रहिआएको छ। विवाह, व्रतबन्धलगायतका शुभकार्यअघि गरिने नान्दीमुखी श्राद्ध पनि यही पितृप्रतिको श्रद्धा र सम्मानसँग जोडिएको धार्मिक परम्परा हो।

नेपाली समाजमा विशेषगरी बडादशैँ, तिहार तथा छठजस्ता महान् पर्वहरू नजिकिँदै गर्दा त्यसको पूर्वसन्ध्यामा आफ्ना दिवंगत पितृहरूलाई सम्झने, तर्पण दिने तथा पिण्ड अर्पण गर्ने चलन छ। पितृपक्षलाई दिवंगत आफन्तप्रति श्रद्धा व्यक्त गर्ने तथा उनीहरूको आत्माको शान्तिको कामना गर्ने विशेष अवसरका रूपमा लिइन्छ।

यस वर्ष असोज ११ गतेदेखि २४ गतेसम्म १४ दिन सोह्रश्राद्ध परेको छ। कर्ताले आफ्ना दिवंगत बाबु वा आमाको मृत्यु भएको तिथिलाई आधार मानेर सोही तिथिमा श्राद्ध गर्ने धार्मिक परम्परा छ। सोह्रश्राद्धका क्रममा तिथिअनुसार पिण्डदान, तर्पण तथा अन्य श्राद्धकर्म गरिन्छ।

यस वर्ष असोज १८ गते आइतबार अष्टमी र नवमी तिथि एकै दिन परेको छ। उक्त दिन अष्टमी तिथि ३ घडी ४७ पला र नवमी तिथि ५७ घडी ५५ पला रहेको बताइएको छ। तिथिको गणनाअनुसार श्राद्ध गर्ने भएकाले सम्बन्धित तिथिका कर्ताहरूले आफ्नो पारिवारिक परम्परा तथा पुरोहितको सल्लाहअनुसार श्राद्धकर्म गर्ने गर्छन्।

पितृपक्षको अन्तिम दिन अर्थात् असोज २४ गते औँसीका दिन पितृविसर्जन गरिन्छ। यससँगै सोह्रश्राद्धको विधिवत् समापन हुन्छ र त्यसपछि नेपाली समाजमा दशैँलगायतका ठूला चाडपर्वको धार्मिक तथा सांस्कृतिक वातावरण थप उत्सवमय बन्दै जान्छ।

सोह्रश्राद्धलाई केवल कर्मकाण्डका रूपमा मात्र नभई आफ्ना दिवंगत पुर्खा तथा आफन्तप्रति कृतज्ञता, श्रद्धा र स्मरण व्यक्त गर्ने नेपाली हिन्दू समाजको महत्वपूर्ण धार्मिक–सांस्कृतिक परम्पराका रूपमा लिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0