धादिङ, नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाआजा गरी मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो।
नागपञ्चमीका अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँस्ने तथा नागको पूजा गर्ने चलन छ। धार्मिक विश्वासअनुसार नागको पूजा गरी घरमा नागको तस्बिर टाँस्दा वर्षभरि नाग, सर्प, बिच्छीलगायतका जीवबाट हुने भय हट्नुका साथै आगलागी, मेघ र चट्याङबाट समेत सुरक्षा मिल्ने विश्वास गरिन्छ।
वैदिक कालदेखि नै नागपूजाको परम्परा रहेको मानिन्छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र पानीका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
नागपञ्चमीसँग जोडिएको धार्मिक कथाअनुसार एक किसानले खेत खन्ने क्रममा नागका तीन बच्चा मारेपछि उनकी आमाले क्रोधमा किसानसहित परिवारका सदस्यलाई मारिदिइन्। किसानकी छोरीले भने नागिनीसँग क्षमा माग्दै पूजा गर्ने र दूध चढाउने वाचा गरेपछि जीवनदान पाइन्। उनले नागिनीको पूजा गरी आफ्ना मृत परिवारका सदस्यलाई समेत जीवनदान मागेपछि नागिनीले सबैलाई पुनर्जीवन दिएको विश्वास गरिन्छ। त्यसै घटनाको सम्झनामा नागपञ्चमीमा नागको पूजा गर्ने परम्परा सुरु भएको धार्मिक मान्यता छ।
यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको पूजा गरिन्छ। ब्राह्मण पुरोहितबाट पूजा गराई नागको चित्र घरको मूलढोकामाथि टाँस्ने चलन छ। नागपञ्चमीका दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई मार्न नहुने मान्यता पनि रहेको छ।
देशभरका नागदह, कुण्ड तथा नागस्थानमा आज विशेष पूजाआजा गरिँदैछ। काठमाडौंको नागपोखरी र टौदह तथा भक्तपुरको सिद्धपोखरीलगायत स्थानमा श्रद्धालुको विशेष उपस्थिति रहने गर्दछ। पूजामा दूध, अक्षता, दुबो, खीर, रोटी तथा अन्य परिकार चढाउने परम्परा छ।
धार्मिक मान्यतासँगै नागपञ्चमीले सर्प तथा अन्य जीवजन्तुको संरक्षण र प्रकृतिसँग मानवको सहअस्तित्वको सन्देशसमेत दिने गरेको छ।






