धादिङ ,२०८३ भाद्र ५ गते
जनस्वास्थ्य कार्यालय धादिङको आयोजना तथा धादिङ अस्पतालको प्राविधिक सहयोगमा जिल्ला कारागार कार्यालय धादिङमा हिजो स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
२०८३ भदौ ४ गते सञ्चालन गरिएको स्वास्थ्य परीक्षणमा जिल्ला कारागार धादिङमा रहेका ९८ जनाको स्वास्थ्य जाँच गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा दुई जनामा तत्काल थप उपचार आवश्यक देखिएपछि धादिङ अस्पतालमा रेफर गरिएको छ भने २८ जनामा सामान्य स्वास्थ्य समस्या देखिएको जनाइएको छ।
यसैगरी, कारागारमा रहेका २५२ जनालाई आठवटा कक्षमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो। कार्यक्रममा हातको सरसफाइ तथा सही तरिकाले हात धुने विधि, सुरक्षित पिउने पानीको प्रयोग, रुघाखोकीबाट बच्ने उपाय तथा रुघाखोकी लागेपछि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिइएको थियो।
कारागारभित्र स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्नुका साथै कैदीबन्दीलाई सरसफाइ, सुरक्षित पानीको प्रयोग र व्यक्तिगत स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
कार्यक्रम सफल बनाउन प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्ला कारागार कार्यालयका प्रमुख इन्द्र खतिवडा, धादिङ अस्पतालका प्रमुख तथा चिकित्सकहरू, कारागार कार्यालय र जनस्वास्थ्य कार्यालय धादिङका कर्मचारीहरूले समन्वय तथा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमबारे जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले जानकारी दिनुभएको हो। उहाँले कारागारजस्तो संवेदनशील स्थानमा नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमले कैदीबन्दीको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।






