चारै उम्मेदवारले आ–आफ्नो समूहको समर्थन रहेको दाबी गर्दै सभापति पदमा दर्ता गराए उम्मेदवारी

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको अधिवेशन चलिरहेका बेला धादिङको नीलकण्ठ नगरपालिकामा नगर सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सभापति पदका लागि धर्मराज भण्डारी, ईश्वर अर्याल, सन्तोष बस्ताकोटी र धुर्व रिजालले उम्मेदवारी दर्ता गराएका हुन्। चार जनाको उम्मेदवारीसँगै नीलकण्ठ नगरको नेतृत्व चयनलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

उम्मेदवार भण्डारीलाई नेपाली कांग्रेस धादिङका नेता तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना निकट मानिन्छ। त्यस्तै, नीलकण्ठ नगरपालिका–१४ का कांग्रेस सभापति सन्तोष बस्ताकोटीलाई कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका रमेश धमला निकट मानिन्छ।

यसैगरी ईश्वर अर्याल र धुर्व रिजाललाई नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी निकट मानिन्छ।

पालिकास्तरीय अधिवेशनका लागि धादिङमा असोज ८ गतेको मिति तोकिएको थियो। जिल्लाका १३ वटै स्थानीय तहमा अधिवेशन प्रक्रिया सुरु भए पनि हालसम्म पाँचवटा पालिकामा मात्रै अधिवेशन सम्पन्न भएको छ।

हालसम्म सिद्धलेक गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा नेपाली कांग्रेसको स्थानीय तह अधिवेशन सम्पन्न भइसकेको छ।

नीलकण्ठ नगरपालिकामा भने सभापतिका लागि चार जनाको उम्मेदवारी परेसँगै नेतृत्व चयन थप प्रतिस्पर्धात्मक बनेको छ। अब नगर सभापतिसहित अन्य पदाधिकारी तथा प्रतिनिधि चयनको प्रक्रियाले नीलकण्ठ कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0