प्रधानमन्त्री  वालेन्द्र शाह (बालेन) र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। स्थानीय समयअनुसार बिहीबार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको हो।

भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका छन्। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए।

गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। प्रधानमन्त्रीले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराएका थिए।

भेटमा नदी किनारमा बसोबास गर्ने नागरिकको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य जोखिम न्यूनीकरणका विषयमा छलफल भएको थियो।

त्यसैगरी, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबिच छलफल भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0