धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट चार जना मगर महिला महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका सरिता राना मगर, सीता थापा मगर, सुशिला थापा मगर र रिता थापा मगर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

चारै जना फरक–फरक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा सक्रिय छन्। सरिता राना मगर आदिवासी जनजाति तथा महिला प्रतिनिधित्वका साथै युवा नेतृत्वमा सक्रिय छिन्। सीता थापा मगर नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरी तरुण दल हुँदै पार्टी संगठनमा सक्रिय रहँदै आएकी हुन्।

त्यस्तै, सुशिला थापा मगर नेविसंघबाट राजनीतिक यात्रा सुरु गरी तरुण दलको जिल्ला सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा बेनीघाट रोराङ गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्। हाल उनी गजुरी बजारमा सौन्दर्य व्यवसाय सञ्चालन गर्दै आएकी छन्।

रिता थापा मगर भने नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा स्थापित गायिका तथा सांस्कृतिक अभियन्ता हुन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी पहिलो महिला केन्द्रीय अध्यक्षसमेत हुन्। पछिल्लो समय उनी कांग्रेसको राजनीतिमा समेत सक्रिय छिन्।

चारै जनाको महाधिवेशन प्रतिनिधिका रूपमा भएको उपस्थितिले धादिङ कांग्रेसमा मगर समुदायका महिलाको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई थप देखिने बनाएको छ। फरक क्षेत्र र अनुभवबाट राजनीतिमा आएका उनीहरूले अब पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्नेछन्।

को हुन् रिता थापा मगर ?

धादिङको नीलकण्ठ नगरपालिका–२ सोह्रघरमा जन्मिएकी रिता थापा मगर नेपाली लोक तथा दोहोरी क्षेत्रकी परिचित गायिका तथा सांस्कृतिक अभियन्ता हुन्। ग्रामीण परिवेशमा हुर्किएकी थापा मगरको बाल्यकालदेखि नै लोकसंस्कृति र संगीतप्रति गहिरो रुचि थियो। यही रुचिलाई निरन्तरता दिँदै उनले नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्।

थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी पहिलो महिला केन्द्रीय अध्यक्ष हुन्। लोक तथा दोहोरी क्षेत्रको संस्थागत विकास र कलाकारको हकहितका लागि समेत उनी सक्रिय रहँदै आएकी छन्।

सांगीतिक क्षेत्रसँगै थापा मगर पछिल्लो समय राजनीतिमा पनि सक्रिय देखिएकी छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थापा मगरले महिला महाधिवेशन प्रतिनिधितर्फ १ हजार १ सय ४७ मत प्राप्त गरेकी छन्। उनी नेपाली कांग्रेसनिकट नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत हुन्।

गायनतर्फ थापा मगरले दर्जनौँ चर्चित लोक तथा दोहोरी गीतमा स्वर दिएकी छन्। उनका ‘ए आमा जाम भन्यो मलाई’, ‘मौरी भुल्यो रसैमा’, ‘बुढेसकालमा’ (राजु परियारसँग), ‘सोरहघरे साइँली’ र ‘चाँचर’ लगायतका गीत स्रोतामाझ लोकप्रिय छन्। विशेषगरी ‘ए आमा जाम भन्यो मलाई’ गीतले युट्युबमा करोडभन्दा बढी भ्यूज पाएको छ।

थापा मगरले विभिन्न एकल एल्बम तथा फुटकर गीतहरू समेत सार्वजनिक गरिसकेकी छन्। गायन, सांस्कृतिक नेतृत्व र सामाजिक–राजनीतिक सक्रियतालाई सँगसँगै अघि बढाउँदै आएकी उनी धादिङबाट राष्ट्रिय लोक तथा दोहोरी संगीत क्षेत्रमा स्थापित महिला कलाकारका रूपमा परिचित छन्।

को हुन् सरिता राना मगर ?

सरिता राना मगर धादिङको ज्वालामुखी गाउँपालिका–६ की नेपाली कांग्रेसकी युवा नेतृ हुन्। पार्टीको संगठन निर्माणदेखि सामाजिक तथा विभिन्न संघसंस्थामा सक्रिय रहँदै आएकी राना मगर नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ बाट आदिवासी जनजाति महिला क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

राना मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत असोज १६ गते भएको निर्वाचनमा  ९सय ४१ मत सहित विजयी भएका छन् ।

राना मगर नेपाल राष्ट्रिय मगर संघकी केन्द्रीय सह–महामन्त्री, नेपाल मगर विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस ज्वालामुखी–काठमाडौं सम्पर्क समितिकी उपाध्यक्ष हुन्। यी भूमिकामार्फत उनले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको संगठन विस्तार, युवा सहभागिता र आदिवासी जनजाति समुदायको प्रतिनिधित्वका विषयमा काम गर्दै आएकी छन्।

सानै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिसँग जोडिएकी राना मगरले आफ्नो राजनीतिक यात्रामा संगठनलाई प्राथमिकता दिँदै विभिन्न जिम्मेवारी निर्वाह गरेको बताउँछिन्। सामाजिक क्षेत्रमा समेत सक्रिय उनले युवाको नेतृत्व विकास र पार्टीभित्र अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिँदै आएकी छन्।

को हुन् सीता थापा मगर ?

सीता थापा मगर धादिङको सिद्धलेक गाउँपालिका–४ मा जन्मिएकी नेपाली कांग्रेसकी युवा नेतृ हुन्। २०४० साल असार २८ गते सिद्धलेक–४ मा जन्मिएकी थापा मगरले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुँदै आफ्नो राजनीतिक यात्रा अघि बढाएकी हुन्।

उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेकी थापा मगरले त्यसपछि नेपाल तरुण दल धादिङको जिल्ला सदस्य हुँदै नेपाली कांग्रेसको संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी छन्।

पार्टीको संगठन निर्माण र विस्तारमा सक्रिय रहँदै आएकी थापा मगर दुई पटक महाधिवेशन प्रतिनिधि र एक पटक महासमिति सदस्य भइसकेकी छन्। लामो राजनीतिक अनुभवसँगै पार्टीको नीति, विचार र संगठनात्मक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी उनी कांग्रेसभित्र अनुभवी युवा नेतृका रूपमा परिचित छन्।

राजनीतिसँगै समाजसेवामा समेत लगनशील थापा मगर सामाजिक गतिविधि र समुदायसँग जोडिएका काममा सक्रिय रहँदै आएकी छन्। स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजका विभिन्न पक्षसँग नजिक रहेर काम गरेको अनुभव उनीसँग छ।

राजनीतिसँगै व्यापार–व्यवसायमा समेत संलग्न थापा मगरले सामाजिक सेवा, राजनीतिक संगठन र व्यावसायिक क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएकी छन्। संगठनमा लामो समयदेखि सक्रियता, राजनीतिक अनुभव र सामाजिक क्षेत्रमा गरेको योगदानलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिने थापा मगर पार्टीभित्र महिला तथा युवाको सक्रिय सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै आएकी छन्।

को हुन् सुशिला थापा मगर ?

धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ मा जन्मिएकी सुशिला थापा मगर नेपाली कांग्रेसमा विद्यार्थी राजनीतिबाट उदाएकी युवा नेतृ हुन्। २०५१ साल मंसिर ४ गते जन्मिएकी थापा मगरले राजनीतिक यात्राको सुरुवात नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गरेकी हुन्।

विद्यार्थी राजनीतिबाट अघि बढ्दै नेपाल तरुण दलको जिल्ला सदस्यको जिम्मेवारी सम्हालेकी उनले पार्टीको संगठनात्मक गतिविधिसँगै स्थानीय राजनीतिमा समेत आफ्नो सक्रियता देखाउँदै आएकी छन्। स्थानीय तहको निर्वाचनमा बेनीघाट रोराङ गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेर उनले स्थानीय राजनीतिक नेतृत्वमा आफ्नो उपस्थिति स्थापित गरेकी थिइन्।

राजनीतिलाई केवल पार्टीगत गतिविधिमा सीमित नराखी व्यावसायिक र सामाजिक जीवनसँग समेत जोड्दै आएकी थापा मगर हाल धादिङको गजुरी बजारमा सौन्दर्य व्यवसाय सञ्चालन गर्दै आएकी छन्। आफ्नै व्यवसायमार्फत अघि बढिरहेकी उनी राजनीतिक तथा सामाजिक गतिविधिमा पनि निरन्तर सक्रिय छिन्।

युवा उमेरमै राजनीतिक संगठनसँग जोडिएर विभिन्न तहमा काम गरेको अनुभव र स्थानीय निर्वाचनको अनुभवसमेत संगालेकी थापा मगर नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। यससँगै विद्यार्थी संगठनदेखि पार्टीको महाधिवेशन प्रतिनिधिसम्मको उनको राजनीतिक यात्रा थप फराकिलो बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0