धादिङ ,गल्छी २०८३ असोज १७ गते

स्रोत पहिचान तथा व्यवस्थापन समाज–नेपाल (रिम्स नेपाल) को २९औँ साधारण सभा तथा १४औँ अधिवेशन सम्पन्न भएको छ। गल्छी गाउँपालिका–६ स्थित संस्थाको कार्यालयमा २०८३ असोज १७ गते सम्पन्न साधारण सभा तथा अधिवेशनले शिवप्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

साधारण सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरी छलफल तथा समीक्षा गरिएको थियो। अधिवेशनले नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहने गरी सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको जनाइएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रमिला पण्डित, सचिवमा चेतनाथ त्रिपाठी र कोषाध्यक्षमा शिला श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरूमा निर्मला पाठक, रामबहादुर मिजार र रमेश उप्रेती रहनुभएको छ।

यसैगरी भेलाले रामलाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय लेखा तथा अनुगमन समिति गठन गरेको छ। गोपाल गैरेको संयोजकत्वमा ३ सदस्यीय कार्यक्रम विकास समिति पनि गठन गरिएको छ।

धादिङ जिल्लामा दर्ता भई सञ्चालनमा रहेको रिम्स नेपालले सामुदायिक विकासका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले स्थानीय समुदायको क्षमता विकास, स्रोत पहिचान तथा व्यवस्थापनलगायतका क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
1
+1
0
+1
1
+1
0