धादिङ, २०८३ असोज २३ गते
धादिङको गजुरी गाउँपालिका–५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि पृथ्वी राजमार्गअन्तर्गत उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार साँझ ६:१५ बजे सूचना जारी गर्दै सडक भासिएर समस्या उत्पन्न भएकाले अर्को सूचना जारी नभएसम्मका लागि उक्त राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।
त्रिशूली नदीको कटानका कारण सडकको भौतिक संरचनामा क्षति पुगेपछि सवारी आवागमन जोखिमपूर्ण बनेको हो। राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यका र देशका विभिन्न जिल्लाबीच आवतजावत गर्ने यात्रु तथा यातायात व्यवसायी प्रभावित हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै सरोकारवाला तथा यात्रुलाई सूचनाको पालना गर्न आग्रह गरेको छ। सडक पुनः सञ्चालन हुने समयबारे भने अर्को सूचना जारी भएपछि मात्रै जानकारी प्राप्त हुनेछ।
जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा जारी सूचनामा अर्को व्यवस्था नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन नगर्न भनिएको छ।






