काठमाण्डाै – भाेलि सरकारले सार्वजनिक विदा घाेषण गरेकाे छ । कतारको राष्ट्र प्रमुख अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।
आज साेमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजाको सम्मानमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजाको भ्रमण हुन लागेको हो । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।
यो कतारी राजाको पहिलो नेपाल भ्रमण पनि हो । कतारी राजासँगै मन्त्रीहरू पनि नेपाल भ्रमणमा आउँदैछन् ।
कतारका राजाले भोलि नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।






