धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङमा पासपोर्ट र राष्ट्रिय परिचय पत्रको ठूलो संख्यामा वितरण हुन नसकि थुप्रिएको छ। छपार्इ भर्इ आएको राहदानी तथा राष्ट्रिय परिचयपत्र नागरिकहरूले लिन नआएको कारणले थुप्रिएको हो।
जिल्ला प्रसाशन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार, “केही महिनादेखि कार्यालयमा रहेका यी कागजातहरू वितरण हुन सकेका छैनन्। नागरिकहरूले विभिन्न कारणहरूले गर्दा पासपोर्ट र राष्ट्रिय परिचय पत्र लिन कार्यालयमा नआउने गरेका छन्। दशै अगाडी नै छपार्इभर्इ आएको राहदानी तथा राष्ट्रिय परिचयपत्र लिनको लागी प्रशासनले अनुरोध गर्दा पनि लिन नआए पछि यसरी थुप्रिएको हो।”
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले यो विषयमा कुरा गर्दै भने, “हामीले नागरिकलाई कागजात लिनका लागि पुनः जानकारी गराइरहेका छौं। यद्यपि अझै पनि धेरै नागरिक कार्यालयमा आउन चासो दिएका छैनन्। लिन नआएको राहदानीहरु १ बर्ष पछि पुन बिभागमा नै फिर्ता पठाउने गरेको छ ।”
हाल जिल्ला प्रशासन कार्यालयमा ४८ हजार राष्ट्रिय परिचयपत्र र ७ सयको हाराहारीमा राहदानी छपार्इ भर्इ आएकोले सो राष्ट्रिय परिचयपत्र र राहदानी वितरण हुन बाँकी रहेको छ ।






