धादिङ — आजदेखि नेपालभर सुरू भएको एसईई परीक्षाको अवसरमा वैदेशिक रोजगारको क्रममा हाल साउदी अरेबियामा रहेका समाजसेवी एवं नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबियाका सचिव हरिभक्त मगरातीले महत्वपूर्ण सहयोग उपलब्ध गराएका छन्।
समाजसेवी मगरातीले ज्वालामुखी-७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षा अवधिभर निःशुल्क बस सेवा प्रदान गरेका छन्। वस सेवाले विद्यार्थीहरूलाई सुनखानी मावि परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा ओसारपसार गर्न मद्दत गर्नेछ।
विद्यार्थीहरूको भविष्य निर्माणको लागि आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने उद्देश्यले मगरातीले यस अभियान सञ्चालन गरेका हुन्। साथै, उनले सम्पूर्ण एसईई परीक्षार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।
विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारहरूले मगरातीको यस महान योगदानको प्रशंसा गर्दै यस किसिमको सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने बताएका छन्।






