काठमाडौं ,२०८३ भाद्र ३१

देशभरका १२ जिल्लाको प्रशासनिक नेतृत्व अहिले महिलाको हातमा पुगेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारीमा रहेका १२ महिलामध्ये पाँच जना सहसचिव र सात जना उपसचिव छन्।

महिला सिडिओ रहेका जिल्लामा धनकुटा, तेह्रथुम, सिन्धुली, रामेछाप, दोलखा, धादिङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, सल्यान, बैतडी र डोटी रहेका छन्।

सहसचिव तहबाट धनकुटामा रुद्रादेवी शर्मा, सिन्धुलीमा स्किम श्रेष्ठ, रामेछापमा बिनु बज्राचार्य कुँवर, दोलखामा रेखा कँडेल र धादिङमा लक्ष्मी पाण्डेय (गौतम) सिडिओ छन्। सहसचिवको दरबन्दी रहेको डोटीमा भने उपसचिव कल्पना घिमिरे नेपालले सिडिओको जिम्मेवारी सम्हालिरहेकी छन्।

त्यस्तै तेह्रथुममा बन्दना राई, रुकुम पूर्वमा कोपिला राई, डोल्पामा जुनु हमाल ढकाल, मुस्ताङमा अजिता शर्मा, सल्यानमा वन्दनाकुमारी केसी र बैतडीमा मिना अर्याल उपसचिव तहबाट सिडिओको भूमिकामा छन्। तेह्रथुमकी सिडिओ बन्दना राईको भने स्थानीय तहमा सरुवा भइसकेको छ।

सिडिओका रूपमा रुद्रादेवी शर्माले आधा दर्जन जिल्ला सम्हालिसकेकी छन् भने स्किम श्रेष्ठले तीन जिल्लाको प्रशासनिक नेतृत्व गरिसकेकी छन्। बिनु बज्राचार्य कुँवर पनि विभिन्न जिल्लामा सिडिओको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

जिल्ला प्रशासनको नेतृत्वमा महिलाको उपस्थिति बढ्दै जानुले निजामती सेवामा महिला सहभागिता र नेतृत्वको दायरा विस्तार हुँदै गएको देखाएको छ। अहिले १२ जिल्लाको शान्ति–सुरक्षा, प्रशासनिक समन्वय र सरकारी सेवा प्रवाहको नेतृत्व महिलाले गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0