धादिङ । गत शुक्रबर काठमाडौँस्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरोधमा धादिङका पत्रकार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको सर्कुलर अनुसार नेपाल पत्रकार महासङ्घ धादिङको आह्वानमा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले पत्रकार हत्या र प्रेसमाथिको आक्रमणको विरोधस्वरूप कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने र विभिन्न सञ्चार गृहमाथि आक्रमण गर्ने जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको माग पत्रकारले गरेका छन् ।

आइतबार बसेको नेपाल पत्रकार महासङ्घको आकस्मिक बैठकले एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चारमाथिको आक्रमणविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा थियो । बैठकले घटनाको अध्ययन र छानबिन गरेर प्रतिवेदन पेस गर्न उपाध्यक्ष उमिद वागचन्दको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति पनि बनाएको छ । केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला शाखा धादिङले भोलि सोमबार बिहान १० बजे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0