ईश्वर थापा मगर
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नीलकण्ठ नगर कमिटीले सोमबार विभिन्न १७ बुदे माग राख्दै निलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुङगानालाई मागपत्र बुझाएको छ।
मागपत्रमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना प्रविधि, उद्योग, पर्यटन, भेदभाव अन्त्य, कर्मचारी मूल्याङ्कन, तथा विकास आयोजना सञ्चालनमा पारदर्शिता सुनिश्चित गर्न आग्रह गरिएको छ।
विशेष गरी कृषिमा आत्मनिर्भरता, युवा रोजगारी सिर्जना, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा पहुँच, आपतकालिन स्वास्थ्य सेवा सुदृढीकरण, सूचना प्रविधिमा कर छुट र प्रोत्साहन, पर्यटन पूर्वाधार विकास, डिजिटल कारोबार व्यवस्था र जलविद्युत आयोजना सरोकार समिति गठनजस्ता मागहरु समेटिएको छ।
गाउंहरु युवाविहिन हुनुका साथै उर्वर जमिनबाझिन थालेको छ । कृषिउत्पादन घट्न थालेकाले ग्रामीण सडकहरु खाद्यान्न लगाएतका सामान आयात गर्ने माध्यम बनेका छन् । अहिलेको अवस्था बदल्न युवा केन्द्रीत रोजागारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने
विभिन्न कारणले प्रभावकारी र दीगो हुन नसकेको अहिलेको स्वास्थ्य बिमालाई आयअनुसार बिमा शुल्क लाग्ने प्रणालीद्वारा सबै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचलाई सुनिश्चित गर्न तत्काल प्रयास गर्नुपर्ने लगायतको मागहरु राखी मागपत्र पेश गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नीलकण्ठ नगर कमिटीले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नीलकण्ठ नगर कमिटी धादिङका सचिव निर्मला दुवाडीद्धारा हस्ताक्षरित मागपत्रमा कुनै पनि बाहनामा कानुन बमोजिम दिनु पर्ने सेवामा ढिलाई गरेको वा सेवा रोकेको अवस्थामा कर्मचारी माथि कारबाही हुने व्यवस्था गरियोस् भनिएको छ ।
त्यसैगरि सबै खालका भेदभाव, छुवाछुत, दमन, तथा उत्पीडनका विरुद्ध सामाजिक जागरणका साथै अझ प्रभावकारी कानुन तथा प्रशासनिक व्यवस्था गर्न समेत माग गरीएको छ ।






