धादिङ – सितल छहारी नेपाल र लायन्स क्लब अफ धादिङ भैरवीको संयुक्त आयोजनामा स्वावलम्बी बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ। साथै विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ।

कार्यक्रममा सितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले बहिरा विद्यार्थीहरूको लागि संस्थाले समय–समयमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारीले आफ्नो अध्यक्ष कार्यकाल सुरु भएपछि यो पहिलो कार्यक्रम भएको बताउँदै आगामी दिनमा समेत क्लब सामाजिक सेवामा सक्रिय रहने बताउनुभयो।

संयुक्त रूपमा आयोजित कार्यक्रममा ३७ जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको हो। साथै जिल्ला वन कार्यालय धादिङको सहयोगमा विद्यालयको हाताभित्र विभिन्न १० प्रजातिका विरुवाहरू रोपिएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रमले बहिरा बालबालिकाको शिक्षामा सहयोग पुर्याउनुका साथै वातावरण संरक्षणतर्फ समेत सकारात्मक सन्देश दिएको आयोजकहरूले बताएका छन्।






