काठमाडौं, असार २१ — हाल देशभर मनसुन सक्रिय रहेकाले व्यापक वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीको अवस्था रहनेछ भने विभिन्न प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, साथै बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना समेत रहेको छ।

महाशाखाले सम्भावित भारी वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम समेत रहेको र साना–ठूला नदी, खोलानालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपास बसोबास गर्नेहरूलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, यातायात र हवाई उडानमा समेत असर पर्ने सम्भावना भएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पूर्व तयारी गर्न मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0