धादिङ, असार २१ –
उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागि सरोकारवालाहरूसँग सदरमुकाम धादिङबेशीमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
उद्योग वाणिज्य कार्यालय धादिङको आयोजनामा तथा उपभोक्ता हित संरक्षण मञ्च धादिङको सह–आयोजनामा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यापारी, व्यवसायी, सरोकारवाला निकाय तथा स्थानीय नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा उद्योग वाणिज्य कार्यालय धादिङका कार्यालय प्रमुख चुडामणि पुरीले व्यवसाय दर्ता प्रक्रिया, कानुनी व्यवस्था, परामर्श सेवा, दर्ता निकाय, व्यवसायको दायित्व तथा नियमन सम्बन्धी व्यवस्था लगायतका विषयमा सहभागीहरूलाई सहजीकरण गरेका थिए।
सहभागीहरूले जिल्लामा उद्योग तथा व्यापार प्रवर्द्धनका लागि आवश्यक नीति तथा पूर्वाधार विकास, सरकारी सेवा प्रवाहमा सुधार, लगानीमैत्री वातावरण निर्माण, बजार पहुँच विस्तार तथा स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा आ–आफ्ना विचार राखेका थिए।
अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई आगामी योजनामा समावेश गर्दै जिल्लामा व्यवसायिक वातावरण सुधारतर्फ ध्यान केन्द्रित गरिने प्रतिबद्धता आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।






