काठमाडौं, २१ असार – नेपाल विद्युत् प्राधिकरणअन्तर्गत चिलिमे–त्रिशुली २२० केभी सव-स्टेशन निर्माणमा अनियमितता भएको आरोपमा बागमती प्रदेशसभा सदस्य तथा राप्रपाका नेता डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर जिल्ला अदालतले सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीका आधारमा तामाङसहितका व्यक्तिहरूविरुद्ध आपराधिक विश्वासघातको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।

प्रकरण चिलिमे–त्रिशुली प्रसारण लाइनअन्तर्गतको सव-स्टेशन निर्माण ठेक्कासँग सम्बन्धित छ। उक्त निर्माण ठेक्का चीनको पिगांओ ग्रुप अफ कम्पनिजले २०७४ कात्तिकमा १ अर्ब ११ करोड रुपैयाँमा पाएको थियो। सो परियोजनामा सहन इन्जिनियरिङले सव-कन्ट्रयाक्ट पाएको थियो। आरोपअनुसार, तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको दबाबमा सहन इन्जिनियरिङमार्फत लेबर कन्ट्रयाक्ट डम्बर तामाङको कम्पनी ‘प्रो–सोलुसन्स’ ले पाएको हो।

सहन कन्स्ट्रक्सनका अनुसार, कम्पनीले झन्डै ६६ करोड रुपैयाँ लगानी गरिसकेको भए पनि हालसम्म करिब ३८ करोड रुपैयाँ मात्र भुक्तानी पाएको छ। बाँकी रकम पिंगाओ कम्पनीले प्रो–सोलुसन्सलाई सोझै भुक्तानी गरेपछि सहन कन्स्ट्रक्सनले आफू ठगिएको दाबी गर्दै मुद्दा हालेको हो।

पक्राउ पुर्जीमा तामाङसँगै प्रो–सोलुसन्सका संस्थापक सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव समेत परेका छन्।

ललितपुर जिल्ला अदालतले २०७८ फागुन ५ गते पक्राउ पुर्जी जारी गरे पनि तामाङसहितले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। तर उच्च अदालतले २०८१ असार ९ गते उनीहरूको निवेदन खारेज गर्दै जिल्ला अदालतको आदेश सदर गरेको हो।

डम्बर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा बागमती प्रदेशका पूर्वसहकारी मन्त्री हुन्। उनी विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा तथा राप्रपा नेता बुद्धिमान तामाङका सहोदर भाइ पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0