ईश्वर थापा मगर
धादिङ, असार २२ –
धादिङको ऐतिहासिक ज्यामरुङ दरबारमा आज बिहान पुनः आगलागी भएको छ। स्थानीय श्याम शाहका अनुसार बिहान करिब ४ बजेतिर विद्युत् सर्ट हुँदा दरबार परिसरमा आगलागी भएको अनुमान गरिएको छ।
आगलागीबाट क्षति पुगेको संरचना दरबारको भण्डारण कक्ष रहेको बताइएको छ, जुन ऐतिहासिक सामग्रीहरू राखिएको ठाउँ थियो। स्थानियहरुले आगोलाई नियन्त्रणमा लिनेप्रयास भईरहेको शाहले बताए ।
यसअघि विक्रम सम्वत २०५९ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्धको क्रममा दरबारको मुख्य भवनमा आगजनी गरेका थिए।
ज्यामरुङ दरबारको ऐतिहासिक पृष्ठभुमी यस्तो छ ।
धादिङ जिल्लाको पूर्वी भागमा पर्ने तत्कालीन ज्यामरुङ गाउँ विकास समिति–८ (हालको नीलकण्ठ नगरपालिका) मा अवस्थित ज्यामरुङ दरबार करिब तीन सय वर्ष पहिले राजा नरभूपाल शाहद्वारा निर्माण गरिएको थियो। यो दरबार शाह वंशीय राजाहरूका पूजापाठ र सैन्य तालिमका गतिविधिको केन्द्रबिन्दु थियो।
वि.सं. २०५९ मा माओवादी द्वन्द्वका बेला दरबार जलेर पूर्ण रूपमा ध्वस्त भएपछि संरक्षित ऐतिहासिक सामग्रीहरू समेत नष्ट भएका थिए। दरबारको जिम्मा सम्हाल्दै आएका हरिहर विक्रम शाहका अनुसार दरबारभित्र मौजुदा रहेका पुस्तैनी गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामग्री, कालीनाल भरुवा बन्दुक, देवताका चाँदीका गरगहना, पानस, सानदान, डोली, छाता, खाद्यान्न लगायतका सामग्री गरी झण्डै ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति पूर्ण रूपमा नष्ट भएको थियो।
ज्यामरुङ दरबार नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह तथा उनका छोरा सिंहप्रताप शाहले आवतजावत गर्ने महत्वपूर्ण स्थान हो। यही दरबारमा उनीहरूले लामो समय बिताएको ऐतिहासिक अभिलेखहरूमा उल्लेख छ।
दरबार मात्र नभई यसको पश्चिमतर्फ रहेको अग्लो डाँडो सैनिक प्रयोजनका लागि बुर्जाघरको रूपमा प्रयोग हुने गरेको र त्यहाँबाट युद्ध लडिएको ऐतिहासिक प्रमाणहरू अझै भेटिन्छन्। अहिले पनि त्यहाँ रहेका ढुङ्गामा गोली लागेका चिन्हहरू प्रस्ट देख्न सकिन्छ।
हाल आगलागीबाट बचेका केही इँटाका टुक्राबाहेक दरबारको भग्नावशेष मात्र बाँकी छ। यति ठूलो ऐतिहासिक र पुरातात्विक महत्व बोकेको संरचना पुनर्निर्माण र राज्यको पहलको पर्खाइमा छ।






