काठमाडौं, असार २२ — आज देशभर सनातन धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस मनाइरहेका छन्। आषाढ शुक्ल एकादशीका दिन पर्ने यो पर्वलाई देवशयनी वा पद्मा एकादशी पनि भनिन्छ। धार्मिक मान्यताअनुसार आज भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्नुहुन्छ, जससँगै चार महिनाको चतुर्मास आरम्भ हुन्छ।

यस अवसरमा राजधानीसहित देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि विशेष पूजा–अर्चना, भजन, व्रत र कथा सुन्ने कार्यक्रम भइरहेको छ। भक्तजनहरूले आजको दिनलाई आत्मशुद्धि, संयम र साधनाको आरम्भका रूपमा ग्रहण गर्दै फलाहार व्रत बसेका छन्।

तुलसी रोपण पनि आजैको विशेष परम्परा हरिशयनी एकादशीको दिन घरघरमा तुलसीको बिरुवा ठूलो श्रद्धाका साथ मोठमा सारेर रोपिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिने भएकाले आजदेखि हरिबोधिनी एकादशीसम्म (चतुर्मास अवधिभर) नियमित पूजा गरिन्छ। धार्मिक गुरुहरूका अनुसार, तुलसी रोपण कर्म आत्मशुद्धि र वातावरणीय संरक्षणको प्रतीक हो।

डा. देवमणि भट्टराईका अनुसार, “चतुर्मास अवधिभर साधकहरूले संयमित जीवनशैली अपनाउनु उपयुक्त हुन्छ। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको समय साधना, अध्यात्म र आत्मपरीक्षणको स्वर्ण अवसर हो।”

स्वास्थ्य र वातावरणीय दृष्टिकोणले पनि तुलसीको महत्त्व विज्ञहरूका अनुसार, तुलसीले वातावरणमा अक्सिजनको स्तर बढाउने, बायोफिल्टरको काम गर्ने र रोग फैलाउने सूक्ष्म जीव नष्ट गर्ने गुण हुन्छ। यस कारणले गर्दा तुलसी रोपण संस्कृति र विज्ञान दुवै दृष्टिकोणले महत्वपूर्ण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0