शुक्रबार, २० कार्तिक २०८३

धादिङको फुर्केखोलामा पन्टुन ब्रिज ल्याइयो, जडानको तयारी तीव

२० पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

धादिङ , मलेखु फूर्के खोला ,२०८३ कार्तिक २०

भाद्र १० गतेको भीषण बाढीले मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसँगको सहज सम्पर्कबाट विच्छेद भएकोले मिति २०८३ साल कार्तिक १५ गते  अस्थायी आवागमन सहज बनाउन स्थानीय तहहरूको संयुक्त  बैठक बसी  निर्णय गरी  पन्टुन ब्रिज ल्याइएको छ। बर्दियाको राजापुरबाट ल्याइएको उक्त पुल फुर्केखोलामा जडान गर्ने तयारी भइरहेको छ।

संघीय सरकारबाट अपेक्षित पहल नभएपछि धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले संयुक्त अग्रसरता देखाउँदै राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको र करिब एक दशकदेखि प्रयोगविहीन अवस्थामा रहेको पन्टुन ब्रिज ल्याएका हुन्। फुर्केखोलामा झारिएको पुलको रंगरोगन तथा आवश्यक मर्मतसम्भार गरी तिहारलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

फुर्केखोलाको पुल बगेसँगै धादिङका आठ स्थानीय तह र गोरखाको आरुघाट क्षेत्रका नागरिकसमेत प्रभावित भएका छन्। अहिले धादिङबेँसीबाट मलेखुको परेवा टार  हुँदै मास्टार पुग्न करिब १८–१९ किलोमिटर कच्ची र साँघुरो सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। मास्टार पुगेपछि पुनः मलेखु आसपास फर्केर मात्र पृथ्वी राजमार्ग हुँदै पूर्व–पश्चिम यात्रा गर्नुपर्ने अवस्था छ।

यसबीच छिमेकी नुवाकोटमा भने स्थानीय तहकै पहलमा बेलीब्रिज निर्माण तथा सञ्चालनका कामले फरक उदाहरण प्रस्तुत गरेका छन्। नुवाकोटको तादी खोलामा बेलीब्रिज राखिएको छ भने बेत्रावती नदीमा पनि नदीको सतहभन्दा केही माथि होचो संरचनामा करिब ७३ मिटर लामो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, विदुर नगरपालिकाले करिब तीन करोड ७७ लाख रुपैयाँ खर्च गरेर त्रिशूलीको ढुंगे बजारदेखि पावरहाउसतर्फ नदीको बहाव साँघुरो बनाई बेलीब्रिज निर्माण गरिरहेको छ। कात्तिक ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।

नुवाकोटमा नदीको बहाव व्यवस्थापन गरी प्राविधिक विकल्प खोजेर बेलीब्रिज निर्माण तथा सञ्चालन गर्न सम्भव भइरहँदा फुर्केखोलामा भने बेलीब्रिज राख्न नसकिने प्राविधिक तर्ककै भरमा विकल्पको खोजी प्रभावकारी रूपमा हुन नसकेको स्थानीयको गुनासो छ। सय मिटरभन्दा लामो बेलीब्रिज राख्न नसकिने भनिए पनि अन्य स्थानमा अपनाइएका विकल्प र प्रविधिबारे पर्याप्त अध्ययन तथा पहल भएको देखिँदैन।

ढिलै भए पनि स्थानीय तहहरूको संयुक्त पहलमा पन्टुन ब्रिज फुर्केखोलामा ल्याइनु सकारात्मक कदम हो। तर अस्थायी पुलले मात्रै दीर्घकालीन समस्या समाधान गर्दैन। पन्टुन ब्रिज तत्काल जडान गरी सञ्चालनमा ल्याउनुका साथै फुर्केखोलामा स्थायी पक्की पुल निर्माणका लागि संघीय सरकारले गम्भीर पहल गर्न आवश्यक छ। नुवाकोटका स्थानीय तहले देखाएको सक्रियताबाट धादिङका जनप्रतिनिधिले पनि पाठ सिक्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।