धादिङ ,२०८३ असोज २७ गते
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट धादिङका दुई महिला नेतृ उर्मिला थपलिया र रिता थापामगर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। महिला खुला क्लस्टरतर्फ प्रतिस्पर्धामा उत्रिनुभएका दुवै नेतृले सफलता हासिल गरेसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा धादिङको प्रतिनिधित्व थप बलियो बनेको छ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी उर्मिला थपलिया पार्टी संगठनमा लामो समयदेखि सक्रिय हुनुहुन्छ। हाल प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी थपलियाको केन्द्रीय सदस्यमा भएको विजयलाई उहाँको राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
त्यस्तै, लोकदोहोरी क्षेत्रमार्फत देशभर परिचित रिता थापामगरले पनि कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको छ। दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा योगदान दिँदै आउनुभएकी थापामगरको केन्द्रीय सदस्यमा भएको विजयले कला क्षेत्रबाट राजनीतिमा सक्रिय व्यक्तित्वको उपस्थिति पार्टीको केन्द्रीय तहसम्म पुगेको छ।
यस महाधिवेशनमा धादिङबाट केन्द्रीय नेतृत्वमा पुग्न सहमहामन्त्री पदमा तीन जना तथा विभिन्न क्लस्टरअन्तर्गत केन्द्रीय सदस्य पदमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लाबाट दुई महिला नेतृ केन्द्रीय सदस्यमा निर्वाचित हुनुले धादिङको राजनीतिक वृत्तमा उत्साह थपेको छ।
निर्वाचन समितिबाट अन्तिम मतपरिणाम तथा औपचारिक प्रमाणपत्र वितरणसम्बन्धी प्रक्रिया पूरा हुन बाँकी रहेको जनाइएको छ।
केन्द्रीय सदस्यमा निर्वाचित उर्मिला थपलिया र रिता थापामगरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!






