धादिङबेसी ,२०८३ असोज २७ गते
धादिङबेसीको बीच बजारमा रहेका सीताराम सुनचाँदी उद्योग र एजाज मोबाइल पसलमा असोज २६ गते राति चोरी भएको छ। घरको पछाडिपट्टिको गाह्रो फोरेर पसलभित्र प्रवेश गरेका चोरले सुनका गहना, मोबाइल फोन र घडीसहित लाखौँ रुपैयाँ बराबरका सामान चोरी गरेको पीडित व्यवसायीहरूले बताएका छन्।
त्रिकोण खबरले घटनास्थलमा पुगेर सम्बन्धित व्यवसायीहरूसँग प्रत्यक्ष भेट गरी लिएको जानकारीअनुसार चोरले सीताराम सुनचाँदी उद्योग रहेको घरको पछाडिपट्टिको गाह्रो फोरेर ढोकाको आउँलो निकाली भित्र प्रवेश गरेका थिए।
सुनचाँदी उद्योगकी सञ्चालक रामकुमारी विकका श्रीमान् सीताराम विकका अनुसार पसलबाट झन्डै दुई लाख रुपैयाँ बराबरका सुनका गहना चोरी भएका छन्। चोरले सुन राख्ने सेफ वा लकरसमेत फोर्ने प्रयास गरेका थिए। तर, लकर फोर्न नसकेपछि बाहिर राखिएका केही गहना लिएर गएको उनले बताए। आफूहरू अर्को घरमा बस्ने भएकाले पसल रहेको घरमा रातको समयमा मानिस नभएको उनको भनाइ छ। बाहिर बोर्ड चाहि बिष्णुदेव सुनचाँदी पसल रहेको छ ।
त्यस्तै, एजाज मोबाइल पसलका सञ्चालक एजाज मियाँले आफ्नो पसलबाट तीनवटा आईफोन, १३ वटा एन्ड्रोइड मोबाइल, १० वटा साना मोबाइल फोन तथा झन्डै दुई लाख रुपैयाँ बराबरका घडी चोरी भएको जानकारी दिए।
दुईवटा पसलबाट चोरी भएका सामानको विवरण हेर्दा व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको देखिन्छ। चोरी भएका सबै सामानको कुल मूल्य भने यकिन हुन बाँकी छ।
प्रहरी बिट नजिकै चोरी, सुरक्षा व्यवस्थामाथि प्रश्न
बीच बजार चोकमै प्रहरी बिट रहेको स्थानमा दुईवटा पसलमा चोरी भएपछि स्थानीय व्यवसायी तथा बासिन्दा चिन्तित बनेका छन्। बजारको मुख्य क्षेत्रमा प्रहरी बिट हुँदाहुँदै पनि रातको समयमा चोरी हुनुले बजारको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको छ।
स्थानीयका अनुसार चोरी भएको घरको पछाडिपट्टि सीसीटीभी क्यामेराको पहुँच नपुग्नु र घर कच्ची हुनुका कारण चोरलाई प्रवेश गर्न सहज भएको हुन सक्छ। बजार क्षेत्रमा सीसीटीभी क्यामेराको पहुँच विस्तार गर्न र रातिको समयमा नियमित प्रहरी गस्ती बढाउनुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन्।
व्यवसायीहरूका अनुसार व्यापारिक क्षेत्रमा हुने यस्ता घटनाले व्यवसायीको सम्पत्तिको सुरक्षामाथि चुनौती थपेको छ। बजारको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।
घटनाको निष्पक्ष अनुसन्धान गरी चोरीमा संलग्न व्यक्तिको पहिचान र चोरी भएका सामान बरामद गर्न सम्बन्धित निकायले सक्रियता देखाउनुपर्ने स्थानीयको माग छ।







