बद्री पौडेल ,धादिङबेसी ,२०८३ असोज २७ गते
धादिङमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। असोज २६ र २७ गते जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समीक्षामा स्वास्थ्यका विभिन्न सूचकका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र स्थानीय तहलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ।
धादिङका १३ वटा स्थानीय तहमध्ये स्वास्थ्य कार्यक्रमको समग्र मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका प्रथम भएको छ। त्यस्तै बेनीघाट रोराङ गाउँपालिका दोस्रो र त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएका छन्।
स्वास्थ्य संस्थातर्फ महादेवबेँसी स्वास्थ्य चौकी प्रथम र मैदी स्वास्थ्य चौकी दोस्रो भएका छन्। त्यस्तै, आधारभूत अस्पतालतर्फ बेनीघाट आधारभूत अस्पताल प्रथम भएको छ।
कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिर बहादुर तामाङ रहनुभएको थियो। कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख दुर्गादत्त चापागाईं, धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम र चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरे अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उत्कृष्ट घोषित स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, पत्रकारलगायतको उपस्थिति रहेको जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिनुभयो।
समीक्षा कार्यक्रमले जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि र कार्यसम्पादनको अवस्था मूल्याङ्कन गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवाका विभिन्न सूचकमा उत्कृष्ट नतिजा हासिल गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तहलाई बधाई दिँदै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।






