धादिङबेसी ,२०८३ असोज २८ गते

नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्यसमिति धादिङले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै बाढीमा परी ज्यान गुमाएका समाजमा आबद्ध दुई निवृत्त शिक्षकका परिवारलाई राहत उपलब्ध गराएको छ।

असोज २८ गते धादिङबेसीमा आयोजित कार्यक्रममा समाजका केन्द्रीय कार्यालयबाट उपलब्ध गराइएको जनही ३० हजार रुपैयाँका दरले कुल ६० हजार रुपैयाँ राहत मृतकका परिवारलाई प्रदान गरिएको हो।

गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। सोही विपद्का क्रममा गोसाइँकुण्ड तीर्थयात्राका लागि गएको २६ जना सवार एउटै बस बाढीको चपेटामा परेको थियो। उक्त घटनामा   परी समाजमा आबद्ध दुई जनाको दुःखद निधन भएको थियो।

बाढीमा परी निधन भएका सिद्धलेक गाउँपालिका–१ निवासी घनश्याम भट्टकी छोरी सिन्दु भट्ट र नीलकण्ठ नगरपालिका–८ निवासी हरिप्रसाद सिलवालका छोरा रबिन सिलवाललाई राहत रकम उपलब्ध गराइएको हो। दुवै मृतक नेपाल निवृत्त शिक्षक समाजमा आबद्ध रहेका थिए। समाजमा आबद्ध शिक्षकका परिवारले विपद्का कारण अभिभावक गुमाउनुपरेपछि उनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो।

समाजका जिल्ला अध्यक्ष केशरीप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सदस्य शालिग्राम अर्याल, शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शिक्षा अधिकृत विजय तामाङ, बागमती प्रदेश सूचना पुनरावलोकन समितिका अध्यक्ष कृष्णराज अधिकारीलगायत निवृत्त शिक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदान गर्दै विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। साथै, दुःखमा परेका परिवारलाई सहयोग गर्नु सामाजिक संस्थाहरूको मानवीय दायित्व भएको सन्देशसमेत दिइएको थियो।

चाडपर्वको खुसी साटासाट गर्ने अवसरमा दुःखमा परेका परिवारलाई सम्झँदै राहत उपलब्ध गराउनु समाजको सकारात्मक सामाजिक पहल हो। शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याएका निवृत्त शिक्षकहरूको संस्था नेपाल निवृत्त शिक्षक समाजले आफ्ना सदस्यका परिवारलाई विपद्का बेला सहयोग गरेर संस्थागत एकता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको  समाजका सचिव  योग्यश्वर अर्यालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0