काठमाडौँ, भाद्र ७ ।
आज भाद्र कृष्ण औंसी, हिन्दू वैदिक परम्पराअनुसार *कुशे औंसी* वा *बुवाको मुख हेर्ने दिन* देशभर मनाइँदैछ । गोकर्ण औंसीका नामले पनि चिनिने यस पर्वमा बुवाप्रति श्रद्धा व्यक्त गरिनुका साथै पितृहरुको सम्झनास्वरूप तर्पण, श्राद्ध र धार्मिक विधिहरू सम्पादन गरिन्छन् ।
यस दिनको पहिलो कर्म नयाँ कुशलाई घरमा ल्याउने परम्परा रहेको छ । वैदिक परम्पराअनुसार नयाँ कुश ल्याइसकेपछि मात्रै श्राद्ध, तर्पण, संकल्प, व्रत तथा अन्य पूजापाठ शुभ मानिन्छ । यो दिन काटिएको वा उखेलिएको कुश एक वर्षसम्म प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।
कुशको स्वरूप र उत्पत्ति
कुश बाहिरी रूपमा खर वा शिरु जस्तै देखिने एउटा विशेष प्रकारको घाँस हो । तर वैदिक दृष्टिले यो पवित्रतम् वस्तु मानिन्छ । हिन्दू धर्मग्रन्थमा यसको उत्पत्तिसम्बन्धी विभिन्न आख्यानहरू भेटिन्छन् ।
* वराहरुपी भगवान विष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञवराहको रुपमा गरिएको स्तुतिपश्चात् उहाँका रौं कुश बनेको विश्वास गरिएको छ ।
* कतिपय मान्यताअनुसार समुन्द्र मन्थनकै क्रममा भगवान विष्णुद्वारा कुशको उत्पत्ति भएको हो ।
* श्री स्वस्थानी ब्रतकथामा वृन्दाको श्राप पूरा गर्न भगवान विष्णुले कुशको रूप धारण गर्नुभएको विवरण पाइन्छ ।
प्रयोग र महत्व
कुशलाई पितृ तर्पण, श्राद्ध, संकल्प, अर्घ्य, मन्त्रोच्चारण, आसन तथा विभिन्न पूजापाठमा अनिवार्य रूपमा प्रयोग गरिन्छ । वैदिक परम्परा अनुसार कुशबिनाको धार्मिक कार्य अपूर्ण मानिन्छ ।
बुवाको मुखहेर्ने परम्परा
यस दिन छोराछोरीले बुवाको मुख हेरी सम्मान र आदर प्रकट गर्ने तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ । बुवाप्रतिको कृतज्ञता व्यक्त गर्ने दिनको रूपमा समेत यो पर्वलाई मनाइन्छ । साथै, स्वर्गीय पितृहरूको सम्झना गर्ने अवसरका रूपमा पनि कुशे औंसीको विशेष महत्व रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।






