धादिङ, ३१ जेठ , २०८३
धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा स्थानीय महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सरफ तथा झोल साबुन बनाउने पाँचदिने सीपमूलक तालिम सुरु भएको छ।

धुवाकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन एक विशेष कार्यक्रमका बीच गरिएको हो। केन्द्रका अध्यक्ष सुमन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १४ का वडा अध्यक्ष नमराज दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उद्घाटन कार्यक्रममा वडा सदस्य तथा न्यायिक समिति सदस्य कमला तामाङको विशेष आतिथ्यता रहेको थियो भने वडा सदस्य भीमबहादुर गुरुङ, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरू तथा केन्द्रअन्तर्गत गठन भएका आयआर्जन महिला समूहका अध्यक्षहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिममा धुवाकोट सामुदायिक सिकाइ केन्द्रअन्तर्गतका सात वटा महिला समूहका २५ जना महिलाहरू सहभागी रहेका छन्। सहभागीहरूलाई दक्ष प्रशिक्षकमार्फत सरफ तथा झोल साबुन उत्पादन गर्ने विधि, आवश्यक सामग्रीको प्रयोग, उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापन तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नमराज दुवाडीले यस्ता सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी घरेलु उद्योग सञ्चालन गर्न तथा आयआर्जनका नयाँ अवसर सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

स्थानीय स्तरमै उत्पादन र उद्यमशीलता विकासलाई प्रोत्साहन गर्दै आयआर्जन वृद्धि, स्वरोजगार प्रवर्द्धन तथा घरेलु उद्यमको विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0