बद्री पौडेल
धादिङबेसी , १० माघ २०८२
तामाङ समुदायको सांस्कृतिक पर्व मञ्जुश्री सम्बत २८६२ औँ सोनाम ल्होछारको अवसरमा दर्खथेन डसङ समाज , नीलकण्ठ नगरपालिका–३ धादिङद्वारा शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम समाजका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा खनियाबास गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लिलामान तामाङ रहेका थिए भने विशेष अतिथिहरूमा खनियाबास वडा नं. १ का वडा अध्यक्ष सोनाम तामाङ, तामाङ घेदुङ संघ धादिङका अध्यक्ष दीपक लोप्चन तामाङ, नेत्र अधिकृत रामसिंह तामाङ, त्रिकोण खबरका अध्यक्ष एवं बच्छलादेवी भू–पूर्व विद्यार्थी समाजका सचिव कृष्ण बद्री पौडेल, पर्यटन व्यवसायी केदार पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले तामाङ समुदाय नेपालकै पुरानो जातीय समुदाय भएको उल्लेख गर्दै मञ्जुश्री सम्बत २८६२ वर्ष पुगेको ऐतिहासिक सन्दर्भ प्रस्तुत गरे। साथै तामाङ संस्कृति, भाषा, परम्परा र समुदायमा विद्यमान केही अन्धविश्वासका विषयमा समेत चर्चा गरिएको थियो।
उद्घाटन सत्रपछि मेन्दोमाया नृत्यसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। कार्यक्रममा समाजका सचिव अशोक कुमार तामाङले यस समाज द्वारा विगतमा दीर्घरोगी, क्यान्सर तथा मृगौला पीडितहरूलाई रकम संकलन गरी सहयोग गर्दै आएको जानकारी गराए। सो अवसरमा पर्यटन व्यवसायी केदार पौडेलले आज बुबा गुप्त बहादुर पौडेलको जन्म दिनको अवसरमा रु ५ हजार आर्थिक सहयोगसमेत प्रदान गरेका थिए।
सचिव तामाङका अनुसार विगत तीन वर्षदेखि साबिक दार्खाली समुदायले धादिङबेसीमा यस किसिमका सांस्कृतिक तथा सामाजिक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको छ। कार्यक्रमले तामाङ समुदायको पहिचान संरक्षण, सामाजिक एकता र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।






