काठमाडौं
आम निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता देशभर लागू गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताअनुसार यो आचारसंहिता व्यक्ति, संस्था, निकाय तथा पदाधिकारी सबैका लागि बाध्यकारी हुनेछ।
आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार तथा तिनका मन्त्रीहरूमा लागू हुने जनाइएको छ । साथै संवैधानिक निकाय, संघ तथा प्रदेश सरकारका निकाय र तिनमा कार्यरत पदाधिकारी पनि आचारसंहिताको दायरामा रहनेछन्। स्थानीय तहका कार्यपालिका र तिनका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा सुरक्षा निकाय, सुरक्षाकर्मी र कर्मचारीलाई समेत आचारसंहिता पालना गर्नुपर्नेछ।
यसैगरी सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति पनि आचारसंहिताको दायरामा समेटिएका छन्। राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता लागू हुनेछ।
सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरू, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी तथा तिनका कर्मचारीलाई पनि आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक र कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र तिनका कर्मचारी पनि आचारसंहिताको दायरामा रहनेछन्।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी र कामदार तथा आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई समेत आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्दै उल्लङ्घन भए कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ।







