Screenshot
  • ढोरपाटन (बागलुङ), १९ फागुन

बागलुङ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानअन्तर्गत यस वर्ष हालसम्म दुई हजार ३०२ जना किशोरीले खोप लगाएका छन्।

अघिल्लो वर्षदेखि सुरु गरिएको उक्त खोप कार्यक्रमअन्तर्गत यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपिभी खोप दिने लक्ष्य राखिएको छ।

हालसम्म पालिकागत रूपमा बागलुङ नगरपालिकामा ५५६, गलकोट नगरपालिकामा २६८, जैमिनी नगरपालिकामा १५८, ढोरपाटन नगरपालिकामा ४१९ जना किशोरीले खोप लगाएका छन्। त्यसैगरी काठेखोला गाउँपालिकामा १३५, तमानखोला गाउँपालिकामा १०१, ताराखोला गाउँपालिकामा ५५, निसीखोला गाउँपालिकामा २३५, बडिगाड गाउँपालिकामा ३०९ र बरेङ गाउँपालिकामा ७३ जना किशोरीले खोप लगाएका छन्।

सूचना अधिकारी घिमिरेका अनुसार यसपटक विद्यालय जाने दुई हजार २७१, विद्यालय नजाने १४ र अघिल्लोपटक छुटेका १७ जना किशोरीले खोप लगाएका छन्। गत वर्ष भने जिल्लामा ११ हजार १७७ जना किशोरीले एचपिभी खोप लगाएका थिए।

तोकिएको उमेर समूहका कुनै पनि किशोरी खोपबाट वञ्चित नहुन् भन्ने उद्देश्यले फागुन महिनाभित्र विद्यालय तथा घरघरमा पुगेर स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरी काम भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0