काठमाडौं, फागुन २०
संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय सहभागिता जनाउन निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गरेको छ।
आयोगले आज जारी गरेको अपिलमार्फत लोकतन्त्रको सुदृढीकरणका लागि प्रत्येक मतदाताको सहभागिता अपरिहार्य रहेको उल्लेख गरेको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी पूरा भइसकेको जनाउँदै आयोगले निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मतको प्रयोग गर्न आग्रह गरेको हो।
निर्वाचन आयोगका अनुसार देशभर आवश्यक मतदान केन्द्र, जनशक्ति परिचालन तथा सुरक्षाको व्यवस्था मिलाइएको छ। आयोगले ‘हरित निर्वाचन’ (Green Election) अवधारणालाई समेत प्राथमिकतामा राख्दै वातावरणमैत्री ढंगले निर्वाचन सम्पन्न गर्न सरोकारवालासँग सहकार्य गरिरहेको जनाएको छ।
लोकतान्त्रिक प्रणालीको सबलीकरणका लागि नागरिकको मत नै सबैभन्दा महत्वपूर्ण आधार भएकाले जिम्मेवार नागरिकको रूपमा मतदानमा अनिवार्य सहभागी हुन आयोगले पुनः आह्वान गरेको छ।






