काठमाडौँ, २९ फागुन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उहाँको निधन भएको बताइएको छ।
दिवङ्गत मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन्। उहाँको पार्थिव शरीरको आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।
मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्।






