काठमाडौं
तीन साता अघि धादिङमा भएको बस दुर्घटनाबारे गठन गरिएको छानबिन कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष बुझाएको छ।
सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा गठित कार्यदलले शुक्रबार प्रतिवेदन पेश गर्दै रात्रिकालीन बसमा डिजिटल निगरानी प्रणाली लागू गर्न सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।
कार्यदलले सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन गर्न विशेष व्यवस्था गर्नुपर्ने, रात्रिकालीन बसमा चालकको अधिकतम कार्य समय निर्धारण गर्नुपर्ने, अनिवार्य विश्रामको व्यवस्था लागू गर्नुपर्ने तथा डिजिटल निगरानी प्रविधि प्रयोग गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री अर्यालले कार्यदलले प्रस्तुत गरेका निष्कर्ष र सिफारिसको अध्ययन गरी आवश्यक कदम तत्काल कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत फागुन ११ गते पोखराबाट धादिङतर्फ आउँदै गरेको एक रात्रिबस बेनिघाट रोराङ गाउँपालिका–५ स्थित त्रिशूली नदीमा खस्दा १९ जनाको ज्यान गएको थियो भने २५ जना घाइते भएका थिए।
स्थलगत अध्ययनपछि कार्यदलले दुर्घटना चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन र ध्यान विचलनका कारण भएको निष्कर्ष निकालेको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूले पनि चालकको लापरबाहीका कारण दुर्घटना भएको बताएका छन्।






