धादिङ ,
सिद्धलेक गाउँपालिका वडा नं. १ कालीदह र वडा नं. ५ कुम्पुर जोड्ने पुल निर्माण कार्य सुरु भएको ५ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । करिब ७ वर्षअघि ठेक्का लागेर निर्माण सुरु भएको उक्त पुल हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।
२०७८ माघ ४ गते सम्झौता भई कामसुरु भएको पुल २०८२ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विभिन्न कारण देखाउँदै ठेकेदार कम्पन्नीले लापरवाही गर्दा हालसम्म करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । सात वर्षअघि ठेक्का लागेर पनि पुल निर्माण नहुने अवस्थाले स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण नहुँदा हिउँदको समयमा खोला हुँदै ठूला सवारी साधन जेनतेन सञ्चालन भए पनि मोटरसाइकलमा यात्रा गर्नेहरूलाई परेवाटार पुगेर मात्र कुम्पुर जानुपर्ने बाध्यता रहेको छ । त्यस्तै, स्थानीयवासीले झोलुङ्गे पुल तरेर घुमाउरो बाटो प्रयोग गरी मात्र धादिङ सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।
निर्माणस्थलमा हाल जम्मा दुई जना कामदार मात्रै रहेको र उनीहरू पनि काम छाड्ने तयारीमा रहेका छन् । कामदारहरूका अनुसार ठेकेदार कम्पनीले पारिश्रमिक नदिएकाले काम गर्न नसक्ने अवस्था आएको हो । धेरैजसो कामदारले यसअघि नै काम छाडिसकेको र आफूहरू पनि छाड्ने तयारीमा रहेको उनीहरूले बताएका छन् ।
कुल लागत ४ करोड ६ लाख १४ हजार रुपैयाँ रहेको उक्त पुल निर्माणको जिम्मा सूर्य, श्री चम्पेश्वर–देवीथान जेभी Surya, shree champeshwor- devithan jv लाई दिइएको थियो । त्रिकोण खबरले निर्माण कम्पनीसँग सम्पर्क गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
योजनासम्बन्धी आधारभूत विवरणहरू जस्तै योजना नाम, लागत स्टिमेट, सम्झौता मिति, सम्पन्न गर्नुपर्ने समयसीमा लगायतका सूचना तथा नागरिक वडापत्रसमेत निर्माणस्थलमा भेटिएको छैन । यसले योजनाको पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ ।
“ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । गाउँपालिका र वडा कार्यालयबाट पटक–पटक ध्यानाकर्षण गराउँदा पनि चासो दिइएको छैन,” सिद्धलेक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा तामाङ ले गुनासो गरे ।
स्थानीयवासीले लामो समयसम्म पनि पुल निर्माण सम्पन्न नहुँदा सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । त्रिकोण खबरको टोलीले स्थलगत अवलोकन गर्दा राज्यको रकम खर्च भइरहँदा पनि नागरिकले सहज सेवा पाउन नसक्नु विडम्बनापूर्ण देखिएको छ ।
स्थानीयवासीले तत्काल निर्माण कार्य पुनः सुरु गरी पुल चाँडो सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0