बद्री पौडेल

धादिङ :- १० बैशाष २०८३

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ गते जारी गरेको “सरकारी कार्यालयहरूले सरकारी सञ्चार माध्यममा मात्रै सूचना विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपर्ने” निर्णयप्रति असहमति जनाउँदै नेपाल पत्रकार महासंघ धादिङ शाखाले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला शाखा धादिङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएको हो। महासंघले उक्त निर्णयले निजी तथा स्थानीय सञ्चार माध्यमहरूको अस्तित्वमाथि असर पार्ने, प्रेस स्वतन्त्रता कमजोर बनाउने तथा सूचनाको समान पहुँचमा बाधा पुर्‍याउने चिन्ता व्यक्त गरेको छ।

ज्ञापनपत्रमार्फत महासंघले निर्णय पुनर्विचार गर्न, सबै सञ्चार माध्यमलाई समान अवसर सुनिश्चित गर्न तथा लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ। साथै, स्थानीय तहमा सक्रिय सञ्चार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई उपेक्षा गर्ने खालका नीति नल्याउन पनि ध्यानाकर्षण गराइएको छ।

महासंघ धादिङले सञ्चार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति निर्माणमा सरोकारवालासँग समन्वय र सहकार्य गर्दै अघि बढ्न सरकारसँग माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0