धादिङ — ज्वालामूखी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको व्यवस्थाअनुसार गाउँपालिकालाई रोजगारदाताको रूपमा सूचीकृत गर्दै कर्मचारीहरूलाई कोषमा समावेश गरिएको हो।
सामाजिक सुरक्षा कोषले जारी गरेको रोजगारदाता सूचिकृत प्रमाणपत्रअनुसार ज्वालामूखी गाउँपालिका, बागमती प्रदेश, धादिङलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम औपचारिक रूपमा दर्ता गरिएको उल्लेख छ। यससँगै गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया कार्यान्वयनमा आएको जनाइएको छ।
प्रमाणपत्रमा उल्लेख भएअनुसार गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी कोषसँग आफ्नो आवद्धता सुनिश्चित गरेको छ। अब करार सेवामा कार्यरत कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध विभिन्न सुविधाहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कोषका तर्फबाट उपकार्यकारी निर्देशक बिबेक पन्थीद्वारा हस्ताक्षरित उक्त प्रमाणपत्र २०८२ चैत १९ गते गाउँपालिकालाई प्रदान गरिएको थियो। यस कदमलाई स्थानीय तहमा कार्यरत करार कर्मचारीहरूको सामाजिक सुरक्षा पहुँच विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।