रिङ्गगाउँको भित्री सडकमा दुर्घटना, सबै घाइतेलाई ट्रमा सेन्टर काठमाडौं रिफर
धादिङ, — जिल्लाको नीलकण्ठ नगरपालिका–१४ रिङ्गगाउँस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो करिब १५:०० बजे आइचर गाडी दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
नीलकण्ठ नगरपालिका–२ ओलिडाँडाबाट देवीथान सामुदायिक जंगलतर्फ सल्ला काठको गोलिया लिन जाँदै गरेको “ONE TEST” आइचर गाडी अनियन्त्रित भई करिब २०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित नौ जना सवार थिए।
दुर्घटनामा घाइते भएका चार जनालाई प्रहरी चौकी धुवाकोटबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल धादिङबेसी ल्याइएको थियो। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा नेत्रावती डबजोङ गाउँपालिका–२ का २८ वर्षीय चालक सुनम अधिकारी (बायाँ हात र टाउकोमा चोट), सोही गाउँपालिका–४ का १५ वर्षीय ईसान विक (टाउको र अनुहारमा चोट), गंगाजमुना गाउँपालिका–३ का २२ वर्षीय अशोक तामाङ र मकवानपुर राक्सिराङ गाउँपालिका–७ का ३२ वर्षीय नविन प्रजा रहेका छन्। सबै घाइतेको अवस्था बोल्न सक्ने रहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन्।






