Screenshot

धादिङ, वैशाख १६ — सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार धादिङमा अब सेवाग्राहीले राहदानी (पासपोर्ट) घरमै प्राप्त गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबीच मंगलबार औपचारिक सम्झौता भएसँगै यो सेवा कार्यान्वयनमा आएको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यसहित एक सय कार्यसूची सार्वजनिक गरेको थियो। सोही कार्यसूचीअन्तर्गत धादिङमा राहदानी घरमै पुर्‍याउने सेवा सुरु गरिएको हो।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार वैशाख ७ गतेपछि बनाइएका सबै राहदानी सेवाग्राहीको चाहना र आवश्यकताअनुसार घरमै पुर्‍याइनेछ। राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले रोजेको स्थानका आधारमा हुलाकमार्फत डेलिभरी गर्ने व्यवस्था मिलाइएको उनले बताए।
उनका अनुसार राहदानी बनाउन बायोमेट्रिक विवरणका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालयमै उपस्थित हुनुपर्ने भए पनि राहदानी तयार भएपछि घरमै पुर्‍याउँदा समय र खर्च दुवै बचत हुनेछ। विशेषगरी दुर्गम क्षेत्रका नागरिकले सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
यस सेवाबाट अन्य सरकारी सेवाहरू पनि घरदैलोमै पुर्‍याउने सम्भावना बढेको प्रजिअ सुवेदीले बताए। नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवाहरू पनि आगामी दिनमा विस्तार गर्न सकिने संकेत उनले गरे। साथै, घरमै सेवा प्राप्त गर्दा सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पारिएको छ।
जिल्ला हुलाक कार्यालय धादिङका हुलाक अधिकृत नारायण प्रसाद पोखरेलका अनुसार सदरमुकाम क्षेत्रमा राहदानी सोही दिन वितरण गरिनेछ भने नीलकण्ठ नगरपालिकाभित्र तीन दिनभित्र र अन्य स्थानीय तहहरूमा डाँक ढुवानी तालिकाअनुसार सम्बन्धित पालिका हुलाक कार्यालयमार्फत सकेसम्म छिटो सेवाग्राहीसम्म पुर्‍याइनेछ।
नीलकण्ठ नगरपालिकामा आजैदेखि सेवा सुरु भएको र अन्य पालिकाहरूमा जेठ १ गतेदेखि राहदानी वितरण सुरु गरिने कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0