घर भत्किएपछि “हेर्न सक्दिनँ” भन्दै निस्किएका व्यक्ति दिउँसो मृत अवस्थामा भेटिए
काठमाडौं :
काठमाडौंको बल्खु क्षेत्रमा सुकुमवासी बस्ती खाली गराइएपछि नजिकै रहेको बागमती खोलामा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान घर भत्काइएको घटनापछि बाहिरिएका ती व्यक्ति दिउँसो खोलामा मृत अवस्थामा भेटिएका हुन्।
मृतक ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको पुष्टि भएको छ। उनकी पत्नी सरिता राईका अनुसार बिहान घर भत्किएपछि उनी मानसिक रूपमा अत्यन्त विचलित देखिएका थिए। “घर भत्किएको दृश्य हेर्न सक्दिनँ भन्दै उहाँ एक्लै बाहिरिनुभएको थियो,” सरिताले बताइन्, “पछि यस्तो अवस्थामा भेटिनुभयो।”
स्थानीयवासीका अनुसार बिहानैदेखि बस्ती खाली गराउने र संरचना हटाउने काम भइरहेको थियो। सोही क्रममा प्रभावित भएका राई घरबाट निस्किएका थिए।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्यको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।






