काठमाडौं , २२ बैशाष २०८३
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयहरूमा सञ्चालित ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र जारी गरेको छ। मन्त्रालयले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८३ अनुसार यस्तो निर्णय गरिएको जनाएको हो।
परिपत्रमा उल्लेख भएअनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५३ अन्तर्गत रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भइसकेको छ। सोही कानुनी व्यवस्थाको आधारमा विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूमा सञ्चालित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत) का कार्यालयहरू बन्द गर्न निर्देशन दिइएको हो।
मन्त्रालयले जारी गरेको निर्देशनअनुसार ट्रेड युनियनका नाममा प्रयोग हुँदै आएका कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका सरकारी स्रोत–साधन तत्काल फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। साथै, युनियनमा आबद्ध कर्मचारीहरूलाई आफ्नो दरबन्दीअनुसारको नियमित कार्य जिम्मेवारीमा फर्काउन पनि भनिएको छ।
उक्त निर्णय सचिवस्तरीय निर्णयअनुसार कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यस परिपत्रले सरकारी संरचनाभित्रको ट्रेड युनियन गतिविधिमा ठोस प्रभाव पार्ने अपेक्षा गरिएको छ।






