धादिङ, मंगलबार २२ बैशाष २०८३
धादिङमा सरकारी कार्यालयहरूबाट नागरिकले सहज र सर्वसुलभ रूपमा सूचना प्राप्त गर्ने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ।
प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष कृष्णराज अधिकारी, नेपाल मानव अधिकार संगठन धादिङका कार्यवाहक सभापति कृष्णबहादुर पौडेल (बद्री), सचिव ईश्वर थापा मगर र कोषाध्यक्ष बालकृष्ण नेपाली लगायतको टोलीले जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्मा , सदस्य राम प्रसाद रिजाल तथा सूचना अधिकारी प्रभा आले मगरसँग छलफल गरेको हो।
जिल्ला समन्वय समिति धादिङमा आयोजित छलफलमा सूचना पहुँचलाई प्रभावकारी बनाउने, पारदर्शिता अभिवृद्धि गर्ने तथा सेवाग्राहीलाई सहज रूपमा जानकारी उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो।
सो अवसरमा उपप्रमुख विश्वकर्माले सूचना अधिकारीहरूलाई आवश्यक अधिकार र भूमिका नदिइए प्रभावकारी रूपमा सूचना प्रवाह गर्न कठिन हुने बताउँदै उनीहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो।
छलफलमा सहभागीहरूले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न सरकारी निकायहरू अझ जिम्मेवार र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरेका थिए।






