धादिङ :-  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगमस्थलमा रहेको प्राचीन धार्मिकस्थल नृसिंहधाम मा बहुप्रतीक्षित पुरुषोत्तम महामहोत्सव सञ्चालन हुने भएको छ ।
हरेक तीन वर्षमा आयोजना गरिने यो धार्मिक महोत्सव आगामी २०८३ साल जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको मूल आयोजक समितिका संयोजक फणिकान्त छत्कुलीले जानकारी दिनुभयो ।
धादिङबेसीबाट सल्यानटारसम्मको बस यात्रा करिब एक घण्टा ४५ मिनेटको रहेको छ । धादिङबेसीबाट आरुघाटतर्फ जाने बसमार्फत सल्यानटारको पानी ट्याङ्कीसम्म पुग्न सकिन्छ भने त्यहाँबाट म्याजिक भ्यानमार्फत करिब २० मिनेटमा नृसिंहधाम पुग्न सकिन्छ ।
गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने बुढीगण्डकी र नेत्रावती नदीको दोभान प्राचीनकालदेखि नै भगवान् नृसिंह देवताको उत्पत्तिस्थलका रूपमा परिचित रहेको जनविश्वास छ । स्थानीय रूपमा बुढीगण्डकीलाई “यशोधरा” र नेत्रावतीलाई “आँखुखोला” नामले समेत चिनिने गरिन्छ ।
यस धामको खोज तथा अनुसन्धान कार्य २०६६ साल फागुनदेखि सुरु भएको थियो । २०६७ सालमा आँपको रुखमुनि पुराण वाचन गरी सङ्कलित रकमबाट मन्दिर निर्माणको प्रारम्भ गरिएको थियो । निर्माणका क्रममा लिच्छवीकालीन सिक्का, इँट्टा, मूर्ति तथा अन्य पुरातात्त्विक भग्नावशेष फेला परेका थिए ।
२०७२ सालको भूकम्पपछि मन्दिर पुनः उत्खनन गर्दा प्राचीन ढुङ्गा, इँट्टा र सिक्काहरू भेटिएपछि यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व अझ उजागर भएको थियो । त्यसपछि २०७६ सालदेखि करिब २१ करोड रुपैयाँ लागतमा नयाँ मन्दिर निर्माण कार्य अघि बढाइएको छ ।
भक्तजनको सहयोग तथा विभिन्न स्थानीय तहको लगानीमा गुरुकुल भवन, प्रसादी गृह, अतिथि आवास, गौशाला लगायतका भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । धामलाई राष्ट्रियस्तरको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने अभियान जारी रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवको पूर्वतयारीस्वरूप २३ दिने मेची–महाकाली रथयात्रा सफलतापूर्वक सम्पन्न भइसकेको छ । साथै, वैशाख २६ र २७ गते नेपाल, भारत, अस्ट्रेलिया र अमेरिकाबाट आउने वैज्ञानिक तथा साधु–सन्तहरूको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ ।
धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनामा चामलमाथि दियो बालेर गरिने संकल्प तथा पूजा–आराधनाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यही आस्थाका कारण प्रत्येक महोत्सवमा लाखौँ भक्तजनको उपस्थिति रहने गर्दछ ।
महोत्सव अवधिभर भक्तजनहरूका लागि निःशुल्क भोजन प्रसादी तथा आवासको व्यवस्था गरिएको छ । साथै, हवनकर्म, पुरुषोत्तम स्नान, कथा श्रवण, धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । भक्तजनहरूले आफ्ना गोत्रअनुसारका कुण्डमा पितृ शान्ति, सन्तान सुख तथा व्यक्तिगत कल्याणका लागि हवन गर्न सक्ने व्यवस्था मिलाइएको प्रवक्ता कुसबहादुर सिटौलाले बताउनुभयो ।
धामका पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारीको सत्संकल्पमा विगत तीन वर्षदेखि देश तथा विदेशका प्रमुख तीर्थस्थल—कैलाश मानसरोवर, दामोदरकुण्ड, बद्रीनाथ, केदारनाथ, गंगासागर, जगन्नाथपुरी, द्वारका र कन्याकुमारी लगायत १०८ तीर्थ क्षेत्रमा सञ्चालन हुँदै आएको यज्ञको पूर्णाहुति पनि यही महोत्सवमा गरिने कार्यक्रम रहेको छ ।
महोत्सवकै अवसरमा १०८ तीर्थ यज्ञको जलप्रसादी वितरण गरिनेछ भने एक लाख लक्ष्मी–नृसिंह यन्त्र निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ । देश–विदेशबाट आउने साधु–सन्तहरूको प्रवचनले महोत्सवलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0