धादिङ, जेठ ७ , २०८३
नीलकण्ठ नगरपालिका वडा नं ३, शान्तबजार दिपटोल गणेश मन्दिरबाट वडा नं १२ जोड्ने पक्की पुलको निर्माण कार्य ६ वर्ष बितिसक्दा पनि अझै अधुरै छ। प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीको कार्यकालमा सुरु भएको यस महत्त्वपूर्ण आयोजनाले लामो समयसम्म गति लिन नसक्दा स्थानीय बासिन्दाहरू सास्ती भोग्न बाध्य छन्।
निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका पछाडि मुख्यतया प्राविधिक तयारीको कमजोरीलाई कारक मानिएको छ। पुलको वारिपट्टि सडकको सतह धेरै उचाइमा उठाउनुपर्ने र पारीपट्टी सडकको पहुँच मार्ग लामो नभएका कारण निर्माणमा जटिलता थपिएको हो। यद्यपि, भौगोलिक धरातल वा प्राविधिक कठिनाईभन्दा पनि सम्बन्धित निकायको उदासीनता नै ढिलाइको मुख्य कारण भएको स्थानीयको बुझाइ छ।
यस विषयमा स्थानीय एक बासिन्दा भन्छन्, “यो पुल धेरै गाडी ओहोरदोहोर गर्ने मुख्य सडक नभएका कारण पनि सम्बन्धित निकायले यसलाई बेवास्ता गरेको आभास हुन्छ। प्राथमिकतामा नपर्दा ६ वर्षसम्म पनि निर्माण कार्यले पूर्णता पाउन सकेन।”
पुल निर्माण नहुदा राज्यको त्यति ठुलो रकम खेर गएको , पुल नभै नहुने ठाउँ हरुमा पुल नभएको कम महत्व भएकोमा निर्माण शुरु गएर पनि अधुरो रहेको अवश्था छ । वडा नं १२ तर्फ आवतजावतमा समस्या भएकोले सरोकारवालाहरूले लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको यो पुलको काम तत्काल सम्पन्न गर्न र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेका छन्।







