धादिङ, २२ जेठ २०८३ — धादिङलाई कार्यक्षेत्र बनाएर प्रकाशन हुँदै आएको धादिङ पोष्ट डटकमले आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदै ‘धादिङ चिनारी’ नामक पुस्तक विमोचन गरेको छ। शुक्रबार धादिङबेसीमा आयोजित कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले उक्त पुस्तकको विमोचन गर्नुभएको हो।

‘सत्य, तथ्य र न्यायिक आवाज’ भन्ने मूल नारासहित प्रकाशित हुँदै आएको धादिङ पोष्ट डटकमले वार्षिकोत्सवको अवसरमा प्रकाशन गरेको ‘धादिङ चिनारी’ पुस्तकमा धादिङको भौगोलिक अवस्था, खेलकुद, शिक्षा, साहित्य तथा पत्रकारितासम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटिएको छ। धादिङ पोष्ट डटकमका सम्पादक नारायण सिल्वालका अनुसार जिल्लाको समग्र परिचय प्रस्तुत गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताउनुभयो।
विश्व वातावरण दिवसको अवसर पारेर ‘पत्रकारिता समाजका लागि, वातावरण भविष्यका लागि’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा धादिङ गौरव शिक्षा सम्मान, धादिङ गौरव साहित्य सम्मान, धादिङ गौरव सामाजिक सेवा सम्मान, धादिङ युवा प्रतिभा सम्मान तथा धादिङ गौरव पत्रकारिता सम्मानलगायतका सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
धादिङ गौरव शिक्षा सम्मान (गणित शिक्षा विशेष) बाट गणित शिक्षक सुरेन्द्र शाह, धादिङ गौरव साहित्य सम्मानबाट साहित्यकार डा. नवीनबन्धु पहाडी, धादिङ गौरव सामाजिक सेवा सम्मानबाट अन्तर्राष्ट्रिय धादिङ समाज, धादिङ गौरव युवा प्रतिभा सम्मानबाट विजय तामाङ तथा धादिङ युवा पत्रकारिता सम्मानबाट पत्रकार बद्री अधिकारी सम्मानित भएका थिए ।
वार्षिकोत्सव कार्यक्रममार्फत पत्रकारिता, सामाजिक सेवा, शिक्षा, साहित्य तथा युवाको प्रतिभालाई प्रोत्साहन गर्दै जिल्लाको पहिचान र योगदानलाई उजागर गर्ने प्रयास गरिएको धादिङ पोष्ट डटकमले जनाएको छ।







