अ्मित पौडेल , धादिङ , २८ जेष्ठ २०८३
धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका–३ पुच्छार बजार निवासी कृष्ण कुमार श्रेष्ठ (समीर) ले आफ्नी स्वर्गीय फूपू हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई रु ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।
स्वर्गीय हरिमाया श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको आज ९० दिनको पुन्य तिथिको अवसरमा आयोजित कार्यक्रममा छात्रावासलाई आवश्यक पर्ने पानीको धारा निर्माणका लागि रु ४० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।
कार्यक्रममा आमाको माया छात्रावासका अध्यक्ष डा. नवीन बन्धु पहाडी, सदस्य कृष्ण बद्री पौडेल तथा छात्रावासमा आश्रित विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वर्गीय हरिमाया श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो भने विद्यार्थीहरूले भजन–कीर्तन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
सहयोग हस्तान्तरण गर्दै कृष्ण कुमार श्रेष्ठ (समीर) ले स्वर्गीय फूपू हरिमाया श्रेष्ठको आफ्नै सन्तान नभएको र उनको पालनपोषण तथा हेरचाह आफूहरूकै परिवारले गर्दै आएको स्मरण गरे। उनले फूपूको नाममा कुनै सामाजिक कार्य गर्ने सोचका साथ छात्रावासलाई सहयोग गरेको बताए। “यहाँ रहेका बालबालिकाहरू पनि अभिभावकविहीन अवस्थामा रहेका छन्, त्यसैले उहाँको स्मृतिलाई जीवित राख्ने उद्देश्यले यो सहयोग गरेको हुँ,” उनले भने।
कार्यक्रममा बोल्दै अध्यक्ष डा. नवीन बन्धु पहाडीले यस्ता सहयोगहरूले संस्थाको सञ्चालन तथा विद्यार्थीहरूको आवश्यकता पूरा गर्न ठूलो टेवा पुग्ने बताउँदै कृष्ण कुमार श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गरे।
त्यसैगरी, कृष्ण बद्री पौडेलले सहयोगी भावना प्रदर्शन गरेकोमा आफ्ना समकक्षी साथी कृष्ण कुमार श्रेष्ठ (समीर) लाई धन्यवाद ज्ञापन गरे। उनले धादिङबेसी आसपास रहेका आमाको माया छात्रावास (नीलकण्ठ–४), स्वाबलम्बी बहिरा विद्यालय (नीलकण्ठ–८) तथा बौद्धिक अपाङ्ग विद्यालय (नीलकण्ठ–३) जस्ता सामाजिक संस्थाहरूमा सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सक्षम व्यक्ति तथा संस्थाहरूलाई सहयोगका लागि आग्रह गरे।
स्वर्गीय हरिमाया श्रेष्ठको स्मृतिमा गरिएको उक्त सहयोगले छात्रावासमा आश्रित बालबालिकाको जीवनस्तर सुधार गर्न तथा आवश्यक पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।







