बद्री पौडेल , १ असार २०८३ सोमबार , धादिङ
सोम आमावस्या (सोमबारे औँसी) को पावन अवसरमा समाजसेवीहरूले आफ्ना दिवंगत परिवारजनको स्मृतिमा नीलकण्ठ न पा ४ आमाको माया छात्रावासलाई भोजन तथा खाद्यान्न सामग्री सहयोग गरेका छन्।
आजका दिन पितृहरूको नाममा गरिने दान–पुण्यले पितृहरू प्रसन्न हुने र मृतात्माको मोक्षको मार्ग खुल्ने धार्मिक विश्वास रहिआएको छ। सोही विश्वासअनुसार नीलकण्ठ नगरपालिका–३ बिचबजार निवासी समाजसेवी चन्द्र भुजेल ले आफ्नी स्वर्गीय माता रूपकला भुजेल, पिता, हजुरबुबा तथा सासू–ससुराको स्मृतिमा छात्रावासमा भोजन दान गर्नुभएको हो।
त्यसैगरी, नीलकण्ठ नगरपालिका–४ सिम्लेगैरी निवासी समाजसेवी निर्मला गुरुङ ले आफ्नी स्वर्गीय छोरी तथा मातापिताको पवित्र स्मृतिमा छात्रावासका बालबालिकाका लागि भोजन सहयोग गर्नुभएको छ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा छात्रावासका अध्यक्ष डा. नवीन बन्धु पहाडी को उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पहाडीले पछिल्लो समय विभिन्न समाजसेवी, शुभेच्छुक तथा दाताहरूबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताउनुभयो। उहाँले यस्ता सहयोगले छात्रावास सञ्चालन तथा बालबालिकाको हेरचाहमा ठूलो सहजता पुगेको उल्लेख गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहयोगदाताहरूका दिवंगत परिवारजनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माले शान्ति प्राप्त गरोस् तथा परिवारजनलाई सदैव सत्कर्मका लागि प्रेरणा मिलिरहोस् भन्ने कामना गरिएको थियो।
आमाको माया छात्रावासले समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र सद्भावका कारण आश्रित बालबालिकाको पालनपोषण तथा शिक्षामा महत्वपूर्ण टेवा पुगेको जनाएको छ।






