काठमाडौं, १६ साउन ,२०८३
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गत लायन वर्ष २०२६/०२७ को क्याबिनेट अफिसर्स पदस्थापन तथा प्रथम क्याबिनेट बैठक (Cabinet Officers’ Installation & 1st Cabinet Meeting) शनिबार काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ।
डिष्ट्रिक्ट गभर्नर **लायन सूर्यकुमार के.सी.**को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनलका इन्टरनेशनल डाइरेक्टर लायन राजन लम्साल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि लम्सालले लायन वर्ष २०२६/०२७ का डिष्ट्रिक्ट पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन (Installation) गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, विभिन्न डिष्ट्रिक्टका गभर्नरहरू, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, क्याबिनेट पदाधिकारी, क्लब अध्यक्षहरू तथा देशभरका लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा नयाँ लायन वर्षका कार्ययोजना, सेवा अभियान, संगठन विस्तार, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू बारे विस्तृत छलफल गरिएको थियो। साथै आगामी वर्षभर सञ्चालन गरिने सेवामूलक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रममा करिब १,३०० भन्दा बढी लायन्स सदस्य तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। भव्य सहभागितासहित सम्पन्न भएको उक्त कार्यक्रमले लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आईको नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै सेवा, नेतृत्व र मानवताको भावनालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सचिव लायन अनुज कुमार श्रेष्ठले सन्चालन गर्नु भएको हो ।







