काठमाडौं, साउन १७ ,२०८३
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद र गुटगत विभाजन अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ।
आयोजकले आइतबार सार्वजनिक गरेको पत्रकार सम्मेलन वक्तव्यमा नेपाली कांग्रेसको एकता केवल पार्टीको आन्तरिक विषय नभई लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व भएको उल्लेख गरिएको छ।
वक्तव्यमा लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर बनेको उल्लेख गर्दै अहिले कांग्रेस पार्टी एकताको गम्भीर परीक्षाबाट गुज्रिरहेको जनाइएको छ।
अभियानका अगुवामध्ये नैनसिंह महर र रञ्जित कर्ण लगायतका नेताहरूको पहलमा सुरु गरिएको अभियानले पार्टीभित्र रहेका विभिन्न धारबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न जोड दिने बताइएको छ।
अभियानका अनुसार नेपालको राजनीतिक इतिहासले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने, कांग्रेस विभाजित हुँदा लोकतान्त्रिक शक्ति र राष्ट्रिय हितसमेत प्रभावित हुने तथ्य पटक–पटक पुष्टि गरेको छ। त्यसैले पार्टी एकतालाई संस्थागत बनाउनु आजको आवश्यकता भएको अभियानको निष्कर्ष छ।
वक्तव्यमा मुलुक आर्थिक मन्दी, बेरोजगारी, युवाको बढ्दो विदेश पलायन, सुशासनको संकट तथा सामाजिक चुनौतीहरूबाट गुज्रिरहेको उल्लेख गरिएको छ। यस्ता राष्ट्रिय चुनौतीका बेला सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेको र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आन्तरिक विवादमै अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय बनेको जनाइएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै अभियानले “देश र कांग्रेस जोड्ने अभियान” सुरु गरिएको जनाएको छ। अभियानले एकताबद्ध कांग्रेसले मात्रै जनताको विश्वास पुनः जित्न, लोकतन्त्रको प्रभावकारी रक्षा गर्न तथा देशलाई सही राजनीतिक दिशातर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गरेको छ।
यसै उद्देश्यका साथ २०८३ साल साउन २० गते बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित गिरिराज पार्टी प्यालेसमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने घोषणा गरिएको छ।
आयोजकका अनुसार भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व हुने गरी सहभागी गराइनेछ।
अभियानले यो कुनै व्यक्ति, गुट वा पदका लागि नभई एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल निर्माणको साझा संकल्प भएको स्पष्ट पारेको छ। साथै भेलामार्फत पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने तथा अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिने जानकारी दिइएको छ।
अभियानले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमलाई ऐतिहासिक अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिताका लागि आह्वान गरेको छ।






