बद्री पौडेल ,धादिङ , १४ साउन २०८३

अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी नातीबाबु भट्टले धादिङस्थित ‘आमाको माया छात्राबास’को अक्षयकोषका लागि यस वर्ष पनि उल्लेखनीय आर्थिक सहयोग प्रदान गर्नुभएको छ। उहाँले नियमित रूपमा दैनिक एक अमेरिकी डलर बचत गरी वर्षमा एकपटक छात्राबासको अक्षयकोषमा पठाउने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ।

छात्राबासका अध्यक्ष डा. नविनबन्धु पहाडीका अनुसार यस वर्ष नातीबाबु भट्टले आफ्ना एक जना सहयोगी साथीको थप सहयोगसहित ५६५ अमेरिकी डलर छात्राबासका लागि पठाउनुभएको हो।

“उहाँ शालीन, भद्र र आदर्श व्यक्तित्व हुनुहुन्छ। अमेरिकामा रहेर पनि देश, समाज, संस्कृति र सेवाप्रति गहिरो चिन्ता र समर्पण राख्नुहुन्छ,” अध्यक्ष पहाडीले भन्नुभयो, “उहाँले दैनिक एक डलर बचत गरेर वर्षमा एकपटक छात्राबासलाई सहयोग गर्ने अभियानले अरूलाई पनि समाजसेवामा प्रेरित गरेको छ।”

उहाँका अनुसार प्राप्त ५६५ अमेरिकी डलर नेपाली रुपैयाँमा सटही गर्दा रु. ८५ हजार १ सय ४६ रुपैयाँ २३ पैसा बराबर भएको थियो। बैंकिङ प्रक्रियाका कारण १ रुपैयाँ २३ पैसा कम प्राप्त भए पनि प्राप्त सम्पूर्ण रकम ‘आमाको माया छात्राबास’को अक्षयकोषमा जम्मा गरिएको छ।

सहयोग रकम जम्मा गर्ने क्रममा सहज र छिटो सेवा प्रदान गर्ने आईएमई धादिङका विनोद अधिकारीप्रति पनि छात्राबास परिवारले आभार व्यक्त गरेको छ।

अध्यक्ष पहाडीले नातीबाबु भट्ट, उहाँको परिवार तथा सहयोगी साथीहरूप्रति कृतज्ञता व्यक्त गर्दै पशुपतिनाथले उहाँहरूलाई अक्षय पुण्य प्रदान गरून् भन्ने कामना गर्नुभयो। साथै, देश तथा विदेशबाट छात्राबासलाई विभिन्न रूपमा सहयोग गर्दै आउनुभएका सम्पूर्ण सहयोगीदाताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि जोडिन इच्छुक सबैलाई हार्दिक स्वागत गर्नुभयो।

उहाँका अनुसार यस सहयोगपछि ‘आमाको माया छात्राबास’को अक्षयकोषमा हालसम्म रु. १० लाख ७४ हजार ३०३ रुपैयाँ संकलन भएको छ। उक्त अक्षयकोषबाट छात्राबासमा आश्रित विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षा र व्यवस्थापनमा दीर्घकालीन सहयोग पुग्ने विश्वास गरिएको छ।

विदेशमा रहेर पनि मातृभूमिको शिक्षा, समाजसेवा र मानवीय अभियानप्रति निरन्तर साथ दिँदै आउनुभएका नातीबाबु भट्टको सहयोगलाई स्थानीय स्तरमा प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0