मुगुको छायॉनाथ रारा नगरपालिका मन्दु गाउँमा आमा श्रीदेवी बोहरासहित एकै परिवारका चार जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको छ । शुक्रबार घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिनाका छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको शव भेटिएको थियो । ।

सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा पुगेको हाे । घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन् । जसमध्ये एउटा टोली घटनास्थलमै पुगिसकेको र अरु दुई टोली दिउँसोसम्म पुग्ने छ ।

सुर्खेतबाट अनुसन्धानका लागि वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली खटिएका छन् ।

शुक्रबार बिहान ९ बजे घटनाको खबर पाउनासाथ घटनास्थलमा विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक आमा छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

शुक्रबारदेखि दिनभरिजसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई सिल गरी पहरा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0